रामेछापको पुरानागाउँमा महिला हिंसा विरुद्धको चेतनामुलक लोकगित प्रतियोगिता

  • प्रकाशित मिति: आइतबार, भाद्र ४ २०७४
  • तामाकोसी खबर

रामेछाप । भदौ ४ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा तिज विशेष चेतनामुलक लोकगित प्रतियोगिता शनिबार सम्पन्न भएको छ । कार्यक्रम पुरानागाउँ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिरा कुमारी गिरिको अध्यक्षता र वडा अध्यक्ष वुद्धि बहादुर पुलामि मगरको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । प्रतियोगितामा पुरानागाउँ वडा भरीका ७ वटा महिला समुहरुले भाग लिएका थिए । जसमा स्वमीवोट महिला समुह खोलाटोल पहिलो , पिपलबोट महिला समुह फोस्रे दोश्रो , सिद्धि गणेस महिला समुह बाहुनचुरा तेस्रो भएका छन् भने अरु सबै बाँकी समुहहरुले सान्त्वना पुरस्कार पाएका छन् ।
प्रतियोगितामा पहिलो हुने समुहलाई ३ हजार , दोश्रोलाई २ हजार , तेश्रोलाई १ हजार र सान्त्वना हुने सबै महिला समुहहरुलाई पाँच सय नगद सहित र प्रमाणपत्र प्रदान गरिएको पुरानागाउँ महिला बचत तथा ऋण सहकारी संस्थाकी सचिव पम्फा सारु मगरले जानकारी दिए । प्रतियोगितको निर्णायक मण्डलमा चर्चित लोकदोहोरी गाएक तिर्थ विरक्त्त पाख्रीन , हरि बहादुर काफ्ले मगर र कविराज भुसाल रहेका थिए । कार्यक्रमका अवसरमा अतिथि कलाकारका साथै स्थानिय कलाकारले विभिन्न प्रस्तुतीहरु दिएका थिए । महिलाहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।