रामेछाप। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले रामेछापमा क्रियाशील पत्रकार तथा शिक्षकलाई लक्षित गरी मानसिक स्वास्थ्यसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
मन्थलीस्थित फ्रिडम रिसोर्टमा मंगलबार आयोजित कार्यक्रममा पत्रकार तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाकी सचिव तथा काउन्सिलर सुनिता ढुंगाना र कृपा गुरुङले मानसिक स्वास्थ्यको महत्व, मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान तथा समाधानका उपायबारे सहजीकरण गरेका थिए। मानसिक स्वास्थ्यका विषयमा समुदायस्तरमा जानकारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले जनाएको छ।
कार्यक्रममा मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो। मानसिक समस्यालाई लुकाउने वा बेवास्ता गर्नुभन्दा समयमै पहिचान गरी आवश्यक परामर्श तथा सहयोग लिनुपर्ने विषयमा समेत सहभागीहरूबीच छलफल गरिएको थियो।