रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापको १३औँ साधारणसभाका अवसरमा खोजमूलक तथा उत्कृष्ट जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
सोमबार मन्थलीमा आयोजित साधारणसभामा खोजमूलक जनजाति पत्रकारिता पुरस्कार पत्रकार हिमाल ढुंगेललाई प्रदान गरिएको हो । पुरस्कारको राशि पाँच हजार रुपियाँ रहेको छ । त्यसैगरी उत्कृष्ट जनजाति पत्रकारिता पुरस्कार–२०८३ पत्रकार ललिता हायुलाई प्रदान गरिएको छ । हायुलाई १० हजार रुपियाँसहित सम्मान गरिएको हो ।
फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले आदिवासी जनजाति पत्रकार महासङ्घले जनजाति समुदायका भाषा, संस्कृति, पहिचान र अधिकारका विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
उहाँले फोनिजको सक्रियताले रामेछापको पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । रामेछापका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रचारप्रसारमा स्थानीय पत्रकारिताले विशेष भूमिका खेल्न सक्ने उहाँको भनाइ थियो ।
जनजाति समुदायका सवाललाई तथ्यपरक र खोजमूलक ढङ्गले सञ्चारमाध्यममा ल्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको फोनिज रामेछापले जनाएको छ ।
साधारणसभामा पत्रकार तथा सञ्चारकर्मीका साथै फोनिजमा आबद्ध प्रतिनिधिको सहभागिता रहेको थियो ।