रामेछाप । मन्थली नगरपालिका–९ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। नगर प्रमुख लव श्रेष्ठले एक कार्यक्रमबीच भवनको बुधबार उद्घाटन गर्नुभएको हो।
भवन उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले आफू निर्वाचनमा जाँदा गरेको परिकल्पना र प्रतिबद्धता अनुसार नगरको विकासका काम अघि बढिरहेको बताउनुभयो। आफ्नो बाँकी कार्यकालभित्र आफूले परिकल्पना गरेका करिब ७५ प्रतिशत काम पूरा हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
नगर प्रमुख श्रेष्ठले दिगो विकास, सुशासन र जवाफदेहितालाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। नगरभित्रका नागरिकको आवासदेखि सडक, खानेपानी तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई आवश्यकता र प्राथमिकताका आधारमा क्रमिक रूपमा अघि बढाइएको उहाँको भनाइ थियो।
“नगरपालिकाले नागरिकको आधारभूत आवश्यकता र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ,” उहाँले भन्नुभयो, “हामीले गरेका कामको अन्तिम मूल्याङ्कन जनताले गर्नेछन्।”
नवनिर्मित प्रशासनिक भवनबाट वडावासीलाई स्थानीयस्तरमै प्रभावकारी र सहज रूपमा सेवा प्रवाह गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। भवन निर्माणसँगै वडा कार्यालयको सेवा प्रवाह व्यवस्थित हुने र सेवाग्राहीलाई सहज हुने बताइएको छ।
वडा नम्बर ९ का अध्यक्ष गोकर्णराज आरणको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हितकुमारी पौडेल, वडा नम्बर ८ का अध्यक्ष गोपाल श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष रविन कार्की ‘नवीन’, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष युनिक विफा घिसिङलगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।