स्थापना दिवसमा सरसफाइ अभियान, ४० डस्टबिन वितरण

  • प्रकाशित मिति: सोमबार, भाद्र १५ २०८३
  • तामाकोशी

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौँ स्थापना दिवसको अवसर पारेर मन्थलीमा बजार सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम गरिएको छ। रामेछाप उद्योग वाणिज्य संघसँगको समन्वय तथा सहकार्यमा सोमबार ‘स्वच्छ मन्थली, सुन्दर मन्थली’ अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत मन्थली बजारका विभिन्न क्षेत्रमा सरसफाइ गर्नुका साथै फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन ४० वटा डस्टबिन वितरण गरिएको थियो। कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, वडा नं. १ का अध्यक्ष होमप्रसाद पौडेल, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा व्यवसायीहरूले स्वच्छ, सुन्दर र व्यवस्थित मन्थली निर्माणका लागि स्थानीय सरकार, व्यवसायी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए। बजार क्षेत्रमा फोहोर उत्पादन हुने क्रम बढ्दै गएकाले फोहोरलाई जथाभावी फाल्ने प्रवृत्तिको अन्त्य गर्दै उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।
इन्स्योरेन्स लिमिटेडको मन्थली शाखा प्रमुख शान्ता श्रेष्ठले बीमा कम्पनीको भूमिका बीमा बिक्री र आर्थिक सुरक्षामा मात्र सीमित नरहेको बताइन्। कम्पनीले आफू रहेको समुदायप्रति सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्ने भएकाले स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर सरसफाइ अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
‘फोहोर जथाभावी नफालौँ, डस्टबिनमै राखौँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले बजार क्षेत्रको फोहोर व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आयोजकले घर तथा व्यवसायस्थल सफा राख्नुका साथै सडक, बजार र सार्वजनिक स्थानको सरसफाइमा पनि सबैले समान जिम्मेवारी लिनुपर्नेमा जोड दिएको छ। नियमित सरसफाइसँगै फोहोरको उचित व्यवस्थापन गर्न सके मात्र मन्थलीलाई स्वच्छ, सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न सकिने बताइएको छ।