विद्युतमा भ्याट लगाउने निर्णयविरुद्ध देशव्यापी हस्ताक्षर अभियान; घिसिङ

  • प्रकाशित मिति: आइतबार, भाद्र ७ २०८३
  • तामाकोशी

रामेछाप। सर्वसाधारण जनतालाई प्रत्यक्ष मारमा पार्ने गरी विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध उज्यालो नेपालले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ।उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आइतबार रामेछापको मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सञ्चालन गरिरहेको अभियानबारे जानकारी दिँदै विद्युतमा लगाइएको भ्याटलगायत जनतामाथि आर्थिक भार थप्ने निर्णय सच्याउन सरकारलाई दबाब दिन हस्ताक्षर अभियान सुरु गरिएको बताउनुभयो।

सरकारले बजेटमार्फत अघि सारेका जनतामारा निर्णयविरुद्ध प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जालमार्फत निरन्तर खबरदारी गरिए पनि सुनुवाइ नभएपछि देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्नुपरेको उहाँको भनाइ थियो। अध्यक्ष घिसिङले शिक्षा, स्वास्थ्य, राइड सेयरिङ तथा विद्युतलगायतका विषयमा राज्यले गरेका निर्णयविरुद्ध उज्यालो नेपालले निरन्तर खबरदारी गर्दै आएको बताउनुभयो। पार्टीको दबाबपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएका केही कर हटाइए पनि राइड सेयरिङ र विद्युतमा गरिएको करसम्बन्धी व्यवस्थामा पुनर्विचार नगरिएकोप्रति उहाँले आपत्ति जनाउनुभयो।



नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) का रूपमा आफू कार्यरत रहँदा करिब २५ प्रतिशत महसुल घटाउँदा पनि घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान सफल भएको स्मरण गर्दै उहाँले विद्युत क्षेत्रलाई थप करको भारमा पार्नुभन्दा बक्यौता रकम असुल गर्न सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“जनताले प्रयोग गर्ने विद्युतमा कर थपेर सर्वसाधारणलाई मारमा पार्ने होइन, प्राधिकरणको बक्यौता रकम असुल गर्नुपर्छ,” उहाँले भन्नुभयो विद्युतमा लगाइएको कर फिर्ता गर्न तथा जनतामाथि अतिरिक्त आर्थिक भार पार्ने निर्णय सच्याउन सरकारलाई निरन्तर दबाब दिने उहाँले बताउनुभयो। उज्यालो नेपालले जनसरोकारका विषयमा खबरदारी अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।