प्रविधिसँगै बदलिँदै मानव बेचबिखनको स्वरूप

  • प्रकाशित मिति: बिहिबार, भाद्र १८ २०८३
  • तामाकोशी

रामेछाप । मानव बेचबिखन नियन्त्रणका लागि प्रविधिको सही प्रयोगसँगै नागरिकमा आवश्यक सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अपरिचित व्यक्तिको सम्पर्क, रोजगारी तथा विदेश जाने प्रलोभन र डिजिटल माध्यमबाट हुने सम्पर्कले बेचबिखनको जोखिम बढाउन सक्ने उनीहरूको भनाइ छ ।
‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय तथा मन्थली नगरपालिकाको आयोजनामा बिहीबार मन्थली नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा मानव बेचबिखनको वर्तमान अवस्था, भविष्यमा पर्न सक्ने असर, जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाका साथै मानव बेचबिखनसम्बन्धी कानुनी व्यवस्थाका विषयमा छलफल गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवाल, जिल्ला प्रशासन कार्यालय रामेछापका लक्ष्मण भुजेल र अधिवक्ता पाण्डव प्रसाईंले मानव बेचबिखनको अवस्था, यसको सम्भावित प्रभाव, सेवा प्रवाह तथा कानुनी व्यवस्थाका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा मानव बेचबिखनका परम्परागत स्वरूपसँगै प्रविधिको विकासका कारण देखिन थालेका नयाँ जोखिमबारे समेत जानकारी गराइएको थियो । सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोग गर्दा अपरिचित व्यक्तिसँगको सम्पर्क, रोजगारी तथा विदेश जाने नाममा हुने प्रलोभन र व्यक्तिगत विवरणको दुरुपयोगप्रति सचेत रहनुपर्नेमा जोड दिइएको थियो ।
मानव बेचबिखन नियन्त्रणका लागि सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै विद्यालय, समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकको सहकार्य आवश्यक रहेको सहभागीको भनाइ थियो ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवर, जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी जैसवाललगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी र सञ्चारकर्मीको सहभागिता थियो ।
कार्यक्रमको समापन गर्दै मन्थली नगरपालिकाका प्रमुख श्रेष्ठले मानव बेचबिखन नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य र निरन्तर सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले प्रविधिको सही प्रयोग गर्न सके मानव बेचबिखनलगायतका अपराध न्यूनीकरणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।