अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालबाट सहायक श्रीमान छनौट (भिडियो सहित)

  • प्रकाशित मिति: शुक्रबार, माघ ३ २०७६
  • तामाकोशी

काठमाडौं । तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) फागुन १ देखि ५ गते सम्म काठमाण्डौँमा हुने भएको छ । विहिबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले चलचित्र महोत्सव कार्यक्रमको औपचारिक घोषणा गर्नु भएको हो ।
नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको महोत्सवमा ८० चलचित्र प्रर्दशन हुनेछ । प्रर्दशनीमा डकुमेन्ट्री (वृत्तचित्र) तर्फ नेपालबाट एकमात्र सहायक श्रीमान छनौटमा परेको पनि पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
निर्देशक गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र नेपालको हिमाली क्षेत्रमा रहेको बहुपति प्रथामा आधारित छ । अहिले पनि नेपालका केही हिमाली जिल्लामा घरमा जति दाजुभाई भए पनि एउटै श्रीमती बिहे गर्ने प्रचलनलाई मुख्य विषयवस्तुको रुपमा उतारिएको छ ।
‘विश्वका कथाहरुको कथ्य उत्सव’ नारासहित हुन लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकामा यो वर्ष एनिमेसन र वृत्तचित्रको विधालाई पनि समेटिएको छ ।
महोत्सवमा ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट छनौट गरिएका ८० चलचित्र प्रर्दशन गर्न लागिएको छ ।