काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो‘’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको छ ।
राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुले भरिपूर्ण गीत सुन्दा जति आनन्द आउँछ, त्यती नै मज्जा यसको आकर्षक म्युजिक भिडियोले दिन्छ । कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन् ।
भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतीलाई आलिसान दरवारको रुपमा प्रस्तुत गरेका छन् भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरसले अभिनय गरेका छन् । लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन् । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । कोरियोग्राफीको कलामार्फत हरेकजसो फिल्मी गीतलाई धनी बनाउँदे आएका कविराज गहतराजको यो भिडियो पनि कुनै फिल्मी गीतभन्दा कम लाग्दैन ।
झकिझकाउ र चमक दमक प्रकाश व्यबस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाउन सघाएको छ भने आलिया गिरीको पहिरन डिजाइनले कविराजको दरवारभित्रको सांगितीक कार्यक्रमको परिकल्पनालाई सार्थक बनाउन सघाएको छ ।