काठमाडौँ –नेपाल आइडल २ को फाईनल आज हुँदैछ । आज साँझ नेपालमा पछिल्लो समय चर्चित नेपाली सिंगिङ रियालिटी शो नेपाल आइडल २ को फाईनल भिडन्त हुन लागेको हो । यसअघि पहिलो सिजन कतारमा भएको थियो ।
यस पटक भने फाईनल भिडन्त नेपालमै हुन लागेको हो । कतारमा हुँदा धेरै दर्शकहरुले कार्यक्रम हेर्न नपाएको गुनासो व्यक्त गरेका थिए । बेलुकी ६ बजेबाट सुरु हुने कार्यक्रम ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुने आयोजकले जनाएको छ ।
फाईनलमा पोखराका बिक्रम बराल ,झापाका सुमित पाठक, अस्मिता अधिकारी र धनगढीका रवि ओड गरी चार जना फाईनलमा पुगेका छन् । कार्यक्रमको एपीवान एचडीबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ । चार प्रतिस्पर्धीमध्ये कसले नेपाल आईडल सिजन २ को उपाधी जित्ला भन्ने चौतर्फी र चर्चा र उत्सुकताकाबीच फाईनलको प्रतिक्षा धेरैले गरिरहेका छन् ।
बिजेता हुनेले २० लाख नगद , होन्डा डब्लुआरभी कार , एउटा एल्बम , वल्र्ड टुर वा ५० लाख नगद पाउँनेछन् । अन्तिम प्रतिष्पर्धामा जसले भोट धेरै ल्याउँछ उसलै उपाधी चुम्नेछ । बिक्रम र सुमित दुबै जना गोल्डेन माईक पाएका प्रतिष्पर्धीहरु हुन् ।