वुधबारदेखि रिलिज भएको बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘रइस’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । जनवरी महिना यसैपनि बलिउडका लागि खासै सुखद मानिदैन ।
तर, जनवरी २५ बाट रिलिज भएको यो चलचित्रले भने यो सोचलाई गलत सावित गर्दै बक्स अफिसमा कमाई गरिरहेको छ । जनवरी २६ मा यो चलचित्रले २६ करोड माथिको व्यापार गर्यो । रिपब्लिक डेमा यसअघि २५ करोडको कमाई गर्दै नायक सलमान खान अभिनित चलचित्र ‘जय हो’ले रेकर्ड राखेको थियो, जुन रेकर्डलाई ‘रइस’ले तोडेको छ । साहरुखको यो चलचित्र नायक ऋतिक रोशन अभिनित चलचित्र ‘काबिल’सँग जुधेकाले पनि दुबै निर्मातालाई घाटा लाग्ने देखिएको छ ।
शनिबारसम्म ‘रइस’ले ७५ करोडको आँकडा पार गरेको छ भने आजसम्म चलचित्रको व्यापार १ सय करोड नजिक पुग्नेछ । ८५ करोडको लगानीमा बनेको यो चलचित्रले ५ दिनमै आफ्नो लगानी सुरक्षित गरेको छ ।
अल्कोहलको धन्दा गर्ने एक गुजराती डनको कथामा यो चलचित्र बनेको छ । साहरुखको डन अवतारलाई दर्शकले खुबै रुचाइरहेका छन् । भारतमा चलचित्रको समिक्षा सुखद छ भने विश्वभरका दर्शकले पनि यो चलचित्रलाई मन पराइरहेका छन् ।
ओभरसिजमा चलचित्रले शनिबारसम्म ७ मिलियन डलर कमाइसकेको छ भने आइतबार ९ मिलियनमाथिको व्यापार हुने बलिउड पण्डितहरुले बताएका छन् ।
यसैविच, सोमबार चलचित्रको सक्सेस पार्टी आयोजना हुने भारतीय मिडियाहरुले जानकारी दिएका छन् । तर, रोचक कुरा के छ भने, अल्कोहलको कथामा निर्माण भएको यो चलचित्रको सक्सेस पार्टीमा अल्कोहल नै ब्याण्ड गरिएको छ ।
जनवरी ३० लाई ‘ड्राई डे’को रुपमा मनाइने भएकाले पनि ‘रइस’ टिमले यहि दिनलाई मौका पारेर पार्टी आयोजना गर्न लागेको हो । पार्टीमा चलचित्रका सम्पूर्ण यूनिटका साथमा नायक साहरुख खान, नजाजुद्दिन सिद्धिकी पनि सहभागी हुनेछन् ।