रामेछाप। उमाकुण्ड गाउँपालिकाको केन्द्रमा पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको विकासलाई लक्षित गर्दै आधुनिक पर्यटकीय पार्क तथा सुविधासम्पन्न कभर्डहल निर्माण गरिने भएको छ।
गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार पालिकाको समग्र पूर्वाधार विकाससँगै पर्यटन र खेलकुदलाई स्थानीय आर्थिक विकासको आधारका रूपमा अघि बढाउने उद्देश्यले यी दुई महत्वपूर्ण योजना अघि सारिएको हो।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण उमाकुण्डलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आधुनिक पार्क निर्माण गर्न लागिएको अध्यक्ष सुनुवारले बताउनुभयो। पार्कमा पर्यटकका लागि बस्ने, घुम्ने तथा मनोरञ्जन गर्ने उपयुक्त पूर्वाधार निर्माण गरिनेछ।
पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र त्यससँगै स्थानीय होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य व्यवसाय विस्तार हुने गाउँपालिकाको अपेक्षा छ। पर्यटन गतिविधि बढ्दा स्थानीयस्तरमा रोजगारी तथा स्वरोजगारीका अवसरसमेत सिर्जना हुने विश्वास गरिएको छ।
“उमाकुण्ड प्राकृतिक रूपमा अत्यन्तै सुन्दर क्षेत्र हो। यहाँ आउने पर्यटकलाई केही समय रोक्ने, घुमाउने र मनोरञ्जन गराउने पूर्वाधार आवश्यक छ,” अध्यक्ष सुनुवारले भन्नुभयो, “पर्यटकीय पार्क निर्माण भएपछि यहाँको पर्यटन गतिविधि थप व्यवस्थित र आकर्षक बन्ने विश्वास गरेका छौँ।”
त्यस्तै, गाउँपालिकाको केन्द्रमा सुविधासम्पन्न कभर्डहल निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। कभर्डहल निर्माण भएपछि स्थानीय खेलाडीले नियमित प्रशिक्षण तथा अभ्यास गर्ने अवसर पाउनेछन् भने जिल्लाभित्र र बाहिरका खेलाडीलाई समेत प्रतियोगिता तथा प्रशिक्षणका लागि उमाकुण्डमा आकर्षित गर्न सकिने गाउँपालिकाको अपेक्षा छ।
अध्यक्ष सुनुवारका अनुसार कभर्डहलले खेलकुदको विकाससँगै खेलकुद पर्यटनको आधारसमेत तयार गर्नेछ। “सुविधासम्पन्न कभर्डहल बनेपछि आन्तरिक र बाह्य खेलाडी तथा खेलप्रेमीको आगमन बढ्नेछ,” उहाँले भन्नुभयो, “यसले स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्याउँदै पालिकाको आर्थिक वृद्धिमा नयाँ आयाम थप्नेछ।”
गाउँपालिकाले कभर्डहललाई खेलाडीको अभ्यास गर्ने संरचनामा मात्र सीमित नराखी विभिन्न प्रतियोगिता तथा खेलकुद गतिविधि सञ्चालन गर्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।