काठमाडौं । आगामी जुन–जुलाईमा आयोजना हुने युरोकपका लागि स्वीट्जरल्याण्डको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भ्लादिमिर पेटकोभिकले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
यसअघि प्रारम्भिक चरणमा स्वीट्जरल्याण्डले २९ सदस्यीय टोली घोषणा गरेको थियो । त्यसबाट गोलकिपर ग्रेगोर कोबेल, मिडफिल्डरद्वय डान एनडोए र एन्डी जेकिरी बाहिरिएका छन् । पेटकोभिकले २९ खेलाडी नै अन्तिम टिममा रहन लायक भएको र उनीहरुले राम्रो प्रभाव पारेको बताए । साथै भविष्यका लागि उनीहरुको राम्रो सम्भावना भएको बताए ।
कोरोना महामारीका कारण यस पटक युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले हरेक टिमले २६ जना खेलाडी राख्न पाउने नियम बनाएको छ । त्यसै अनुसार सहभागी राष्ट्रहरुले टिम घोषणा गरिरहेका छन् । जुन १ सम्म सहभागी सबै टिमले २६ सदस्यीय टोली घोषणा गरिसक्नुपर्नेछ । केही टिमले यसअघि नै २६ सदस्यीय टोली घोषणा गरेपनि केहीले प्रारम्भिक टोली घोषणा गरेका थिए ।
२४ टिम सहभागी हुने युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ देशमा हुँदैछ । स्वीट्जरल्याण्ड समूह ए मा छ । यस समूहमा इटली, टर्की र वेल्स पनि छ ।
२३ सदस्यीय स्वीस टोलीः
गोलकिपरः यान सोमर, यभोन एमभोगो, जोनास ओमलिन
डिफेण्डरः मानुएल अकान्जी, लोरिस बेनिटो, निको एलभेदी, केभिन एमबाबु, बेसिर ओमेरागिक, रिकार्डो रोड्रिगेज, सिल्भान विडमेर, फाबियन सार, जोर्डन लोटोम्बा, एरे कोमर्ट
मिडफिल्डरः ग्रान्ट जाका, डेनिस जाकारिया, रेमो फ्रेउलर, डिजिब्रिल सो, एडमिर मेहमेदी, जेर्दान शाकिरी, रुबेन भर्गास, स्टेभेन जुबेर, एडिमिल्सन फरनान्डेज, क्रिस्टियन फासनाट
फरवार्डः ब्रिल एम्बोलो, मारियो गाभ्रानोभिक, हरिस सेफेरोभिक