जेष्ठ १७, रामेछाप ।
रामेछाप जिल्ला मन्थली नगरपालिका वडानं. ७ गैराथोकमा जन्मेका हरी थापा संगितको क्षेत्रमा पहिलो प्रयासमै चर्चाको पात्र बन्न सफल हुनु भएको छ । पछिल्लो समयमा नेपाली लोक दोहोरी गित संगितको नाममा विकृति फैलिएको आरोप लागिरहेको बेलामा बास्तविक लोक दोहोरी गित पस्कने प्रयास स्वरुप हरीको चर्चा चुलिएको हो ।
रामेछाप, सिन्धुली, काभ्रे लगाएत आसपासको जिल्लाहरुको गाँउ–ठाँउको विश्लेषण सहितको गित “मकै भाँची धान रोप्ने बेलैमा” ले अहिले संगितको बजार तताइरहेको छ ।
केटाः
खाल्टे हुदै खुर्काेटमा झरेर,
आउनु माया सुनकोसी तरेर
मकै भाँची धान रोप्ने बेलैमा ।
आउ है सानु घुम्नलाई मन्थली
यो हप्ताको सोमबारे मेलैमा ।।
रामेछापको मन्थलीमा प्रत्येक सोमबार लाग्ने साप्ताहिक हाटको चर्चा संगै काठमान्डौ देखि मन्थली सम्म आउदा देख्न सकिने विशेष ठाँउहरुको विश्लेषणले गर्दा यो भाका लोकप्रिय बनेको हो । सिन्धुली र रामेछापका कलाकारहरु दोहोरी भाकामार्फद माया पिरती साटासाट मात्र होइन गाँउ–ठाँउको पहिचान पनि दिलाएको छ ।
केटीः
राशी खोला तिरैतिर आउँला,
कुसेश्वरको मन्दिरमा भेटौला
मन्को कुरा भनौला भेटैमा ।
आउ है सानु घुम्नलाई सिन्धुली
सिद्धबाबा मन्दिरको गेटैमा ।।

केटा पक्षले रामेछापको सोमबारे हाटको चर्चा उठाएको छ भने केटी पक्षले सिन्धुली जिल्लाको विशेष ठाँउ तथा धार्मिक स्थलहरुको विशेषतालाई चिनाउने प्रयास गरेको पाइन्छ । काव्य म्यूजिक सेन्टरले बजार व्यवस्थापन गरेको यो भाकाको शव्द थेगो हरी थापाले नै गरेको छ । हरी थापा र शुसिल थापाको प्रस्तुति एवं राम विपी मगरको लय, राम विपी मगर र अर्चना स्याङ्तानको आवाजमा सजिएको यस लोक भाकाले भविष्यमा पनि राम्रै स्थान पाउने आशा गर्न सकिन्छ ।