विश्वकप छनोटः नेपालले अष्ट्रेलिया, जोर्डन, ताइपेसँग मार्च र जुनमा खेल्ने

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २७ २०७७
  • तामाकोशी

काठमाण्डौ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु सन् २०२१ को जुन महिनाभित्र सकिने भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो । एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोट खेलहरु स्थगित गरिएको थियो ।



छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले जनाएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ।

नेपालले बंगलादेशसँग कार्तिक २८ र मंसिर २ गते ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ ।