वेस्ट इण्डिजसँगको टेस्ट श्रृङ्खला इङ्ग्ल्याण्डले जित्यो

  • प्रकाशित मिति: मंगलबार, साउन १३ २०७७
  • तामाकोशी

काठमाण्डौ । वेस्ट इण्डिजसँगको तीन टेस्टको श्रृङ्खला इङ्ग्ल्याण्डले जितेको छ । मङ्गलबार सकिएको तेस्रो तथा अन्तिम टेस्ट दुई सय ६९ रनले जित्दै इङ्ग्याण्डले २–१ ले श्रृङ्खला जितेको हो ।
तेस्रो टेस्ट जित्न तीन सय ९९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज एक सय २९ रनमै अलआउट भयो । उसका लागि सबैभन्दा धेरै साइ होपले ३१ रन बनाए । वेस्ट इण्डिजलाई एक सय २९ रनमै सीमित गर्न इङ्ग्याण्डका क्रिस वोक्सले पाँच र स्टुअर्ट बोर्डले चार विकेट लिए । यो खेलमा चार विकेट लिएसँगै बोर्डले टेस्ट क्रिकेटमा पाँच सय विकेट पनि पूरा गरेका छन् ।
पहिलो पालीमा इङ्ग्याण्डले तीन सय ६९ रन बनाएको थियो भने वेस्ट इण्डिज एक सय ९७ रनमा अलआउट भएको थियो । दोस्रो पालीमाइङ्ग्ल्याण्डले दुई सय २६ रन बनाएर पाली समाप्तिको घोषणा गरेपछि वेस्ट इण्डिजले तीन सय ९९ रनको लक्ष्य पाएको थियो । कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट यी दुई देशको टेस्ट श्रृङ्खलासँगै फेरि सुरु भएको छ ।