रामेछापको सेलेघाटमा बोलेरो दुर्घटना, तीन जना घाइते, एकको अवस्था गम्भीर

  • प्रकाशित मिति: सोमबार, बैशाख २४ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप मन्थली नगरपालिका ६ सेलेघाटमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको बोलेरो दुर्घटना भएको छ । मन्थली नगरपालिका–६ भलुवाजोर स्थित सेलेघाटबाट खुर्काेट तर्फ जाँदै गरेको बा १८ च ६१४७ नम्बरको बोलेरो सोमबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् । सेलेघाटबाट सिन्धुलीको खुर्काेट तर्फ जाँदै गरेको बोलेरो सोमबार दिउँसो १ बजे मन्थली नगरपालिका ६ सेलेघाट नजिक दुर्घटना हुँदा बोलेरो चालक सहित तीन जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो‘‘दुर्घटनामा चालक सहित तीन जना घाइते भएका छन् । घाइते हुनेहरु रमण कन्स्ट्रक्सन मार्फत सुनकोशी मरिण डाइभर्सन आयोजनामा काम गर्ने भन्ने खुलेको छ । अन्य परिचय खुलेको छैन’’उहाँका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ भने दुई जनाको हात र खुट्टामा चोट लागेको छ । घाइतेहरुको खुर्काेट स्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख चौलागाईँले बताउनुभयो । बोलेरो सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीको अनुमान छ ।