सुनकोशीमा कार खस्दा चार जना बेपत्ता, दुई जनाको पहिचान खुल्यो

  • प्रकाशित मिति: सोमबार, साउन १८ २०८३
  • तामाकोशी

रामेछाप। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा सोमबार भएको सवारी दुर्घटनापछि सुनकोशी नदीमा कार खस्दा चार जना बेपत्ता भएका छन्। तीमध्ये दुई जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङको खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटअन्तर्गत प्रयोग हुने कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको हो।
दुर्घटनामा कार चालक सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामा र स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का करिब २७–२८ वर्षीय गणेश थापा बेपत्ता भएका छन्। कारमा सवार अन्य दुई जनाको नाम, थर र ठेगाना भने अझै खुल्न सकेको छैन।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गसँग सम्बन्धित रहेको छ। यसअघि प्राप्त सूचनाअनुसार चालक दिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टरसमेत रहेका थिए।
दुर्घटनापछि बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसलाई समेत खाङसाङ प्रहरी चौकीमा राखिएको जनाइएको छ।
हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली घटनास्थलमा परिचालित भई सुनकोशी नदीमा बेपत्ता कार र यात्रुहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइरहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।