रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समय सडक दुर्घटना बढेको छ । वैशाख महिनाको हालसम्म जिल्लाका विभिन्न स्थानमा पाँच वटा सडक दुर्घटना भएका छन् । यी दुर्घटनामा परी दुई जना पुरुष र एक जना महिला गरी तीन जनाले ज्यान गुमाएका छन् भने २७ जना मानिस घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि वैशाख १७ गतेसम्म जिल्ला भर २९ वटा सडक दुर्घटना भएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि वैशाख १७ गतेसम्म जिल्लाको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी आठ जनाले ज्यान गुमाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि वैशाख १७ गतेसम्म जिल्ला भर २९ वटा सडक दुर्घटना भएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि वैशाख १७ गतेसम्म जिल्लाको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी आठ जनाले ज्यान गुमाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘साढे ९ महिनामा जिल्लाभर २९ वटा सडक दुर्घटना भएका छन् । यी दुर्घटनामा परी सात जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । यो अवधिमा भएका सडक दुर्घटनामा परी १५ जना गम्भीर सहित ७० जना घाइते भएका छन् ।’’
उहाँका अनुसार साउन महिनामा भएका तीन वटा सडक दुर्घटनामा परी एक जनाले ज्यान गुमाएको छ भने तीन जना घाइते भएका छन् । यस्तै भदौ महिनामा भएको ६ वटा दुर्घटनामा १८ जना, असोज महिनामा एउटा दुर्घटनामा दुई जना, कार्तिक महिनामा दुई वटा दुर्घटनामा चार जना र मङ्सिर महिनामा भएको दुई वटा सडक दुर्घटनामा दुई जना घाइते भएका छन् । यो चार महिनाको अवधिमा सडक दुर्घटनामा परी एक जनाले पनि ज्यान गुमाएका छैनन् । पुस महिनामा भने तीन वटा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । त्यसै गरी माघ महिनामा भएको दुई वटा दुर्घटनामा परी एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । फागुन महिनामा भएको चार वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । चैत महिनामा भएको एउटा दुर्घटनामा परी तीन जना घाइते भएका छन् । वैशाख महिनाको १७ गतेसम्म पाँच वटा दुर्घटनामा परी तीन जनाको मृत्यु भएको र सात जना गम्भीर सहित २७ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख चौलागाईँले बताउनुभयो ।
जिल्लामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सहित ट्राफिक व्यवस्थापनमा थप कडाइ गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो‘‘अहिले सडक दुर्घटना न्यूनीकरणका लागि ग्रामीण भेगमा चल्ने सवारी साधनलाई लक्षित गरी सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ । सवारीको तीव्र गति तथा चालकमा मापसे चेकजाँचमा कडाइ गरिएको छ । सवारी साधनहरूको यान्त्रीकरण परीक्षण सहित चालकको स्वास्थ्य परीक्षण अभियानलाई पनि जोड दिइएको छ ।’’
यो बाहेक ग्रामीण क्षेत्रमा रहेका आमा समूह तथा क्लबहरूसँगको समन्वयमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछापका गत आर्थिक वर्ष २०७९÷०८० मा ३५ वटा सडक दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका थिए ।