रामेछापको कौछिनी बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

  • प्रकाशित मिति: बिहिबार, चैत्र २३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सदरमुकाम मन्थली स्थित रामेछाप समुदायिक अस्पतालमा उपचारका क्रममा चालकको पनि मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको हो । दुर्घटनामा बोलेरो चालक सहित मन्थली नगरपालिका वडा नं ७ भटौली कौछिनीकी ८२ वर्षिया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञान दानी तामाङ, ६८ वर्षका जनसुन तामाङ र सुनापति गाउँपालिका वडा नं १ गुन्सीकी ८ वर्षकी लाक्पा घिसिङको घटना मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभयो । ४ जनाको घटना स्थलमै ज्यान गएको थियो । बिहीबार अपराह्न सदरमुकाम मन्थलीबाट १५ जना यात्रु बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना भएको थियो । उकालो मोड्दा ब्रेक नलागेपछि सडकबाट तल खसेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।