प्रथम मन्थली नगर कप रनिङ शिल्ड भलिबलको उपाधि वडा नं १ लाई

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको प्रथम मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं १ ले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा वडा नं १४ फुलवासीलाई हराउँदै मन्थली १ ले उपाधि उचालेको हो । वडा नम्बर १ ले वडा नम्बर १४ लाई २५–२१, २५–२२ र २५–१७ को सोझो सेटमा हराउँदै नगद एक लाख रुपैयाँ सहित उपाधि जितेको हो । प्रतियोगितामा वडा नं १४ फुलासी द्वितीय, वडा नं ६ भटौली तृतीय र वडा नं ४ सालु सान्त्वना भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद रु १ लाख, ७५ हजार, ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र सहित प्राप्त गरेका छन् ।सान्त्वना हुने वडा नं ४ सालुले ३० हजार नगद सहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न स्थानमा विजेता टिमहरूलाई मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको छ । नगर प्रमुख श्रेष्ठले प्रथम नगर कपमा सबै वडाबाट उत्साहपूर्ण रूपमा सहभागिता रहेको बताउँदै आगामी दिनमा पनि सबै वडाहरूले खेललाई प्राथमिकतामा राखेर खेलकुदको माध्यमबाट मन्थली नगरलाई चिनाउन लाग्नु पर्ने बताउनुभयो। मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा आइतबार देखि सुरु भएको प्रतियोगितामा मन्थली नगरपालिकाका १४ ओटै वडाबाट एक÷एक टिम सहभागी भएका थिए ।