मन्थलीमा जारी वाग्मती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक विजयी

  • प्रकाशित मिति: बुधबार, माघ ४ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा बुधवारबाट सुरु भएको वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पहिलो दिन तीन वटा खेल भएका छन् । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिताको पहिलो दिन बुधवार रामेछाप र काठमाडौँ जिल्लाबिच भएको पहिलो खेलमा रामेछाप, सिन्धुली र नुवाकोट जिल्लाबिच भएको दोस्रो खेलमा सिन्धुली, सिन्धुपाल्चोक र रसुवा जिल्लाबिच भएको तेस्रो खेलमा सिन्धुपाल्चोक विजयी भएका छन् । विजयी भएका तीन वटै जिल्लाले सोझो सेटमा हराएको आयोजकले जनाएको छ । प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिएका छन् । एक टिममा १२ जना खेलाडी सहभागी प्रतियोगितामा १ सय ५६ जना खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने सो प्रतियोगिता ३० हजार मानिसले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने हरेक टिमलाई टिम व्यवस्थापन खर्च स्वरूप २५ हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीलाई थप २५ हजार रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि ३६ लाख ४१ हजार अनुमान गरिएको छ ।