रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज बुधवारबाट वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै छ । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । मङ्गलवार साँझ मन्थलीमा पत्रकार सम्मेलन गरी महासङ्घका वाग्मती प्रदेश सहइञ्चार्ज उज्ज्वल सुवेदीले प्रतियोगिताको सबै तयारी पुरा भएको र प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिने जानकारी दिनुभयो । बुधवार मन्थली स्थिति जिल्ला समन्वय समिति रामेछापको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन एमाले सचिव गोकर्ण विष्टले बिहान ११ बजे गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । एक टिममा १२ जना खेलाडी सहभागी हुने प्रतियोगितामा १ सय ५६ जना खेलाडी सहभागी हुने उहाँले बताउनुभयो । चार दिनसम्म चल्ने सो प्रतियोगिता ३० हजार मानिसले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । सो प्रतियोगिताबाट खेल क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै मन्थलीको कोभिडको कारण सुकेको व्यापार व्यवसाय वृद्धिमा पनि सहयोग पुग्ने अपेक्षा राखिएको सुवेदीले बताउनुभयो । ‘मन्थलीमा ठुला खालका प्रतियोगिता नभएको धेरै समय भयो, त्यसैले पनि खेलाडी र दर्शकले यसलाई महत्त्वका साथ लिनुभएको छ’, उहाँले भन्नुभयो । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने हरेक टिमलाई टिम व्यवस्थापन खर्च स्वरूप २५ हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीलाई थप २५ हजार रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराइने सुवेदीले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनको लागि ३६ लाख ४१ हजार अनुमान गरिएको उहाँले बताउनुभयो ।
रामेछापको मन्थलीमा आजबाट वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै
- प्रकाशित मिति: बुधबार, माघ ४ २०७९
- तामाकोशी