रामेछापको मन्थलीमा वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै

  • प्रकाशित मिति: सोमबार, माघ २ २०७९
  • तामाकोशी
रामेछाप । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता माघ ४ गतेदेखि रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गर्ने महासङ्घले जनाएको छ । महासङ्घले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता माघ ४ देखि ७ गतेसम्म सञ्चालन हुने जनाएको छ । प्रतियोगितामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका भलिबल टिमले भाग लिने महासङ्घका वाग्मती प्रदेश अध्यक्ष सिताराम कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन नेकपा एमाले सचिव गोकर्ण विष्टले गर्ने पनि उहाँले बताउनुभयो । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।