ओखलढुङ्गामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • प्रकाशित मिति: सोमबार, कार्तिक २९ २०७८
  • तामाकोशी

ओखलढुङ्गा । ओखलढुङ्गामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिकास्थित ककनी मन्दिर दर्शनका लागि गएका तीन जनाको घटना स्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप सुनकोसी गाउँपालिका वडा नं ९ को जौबारी नजिकै कुसाङ भन्ने ठाउँमा सडकबाट झन्डै ६ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा सबै सिद्धिचरण नगरपालिका वडा नं १० रुप्सेका रहेका छन् । दुर्घटनामा १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठूमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द काफ्लेका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।