एजेन्सी । अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो शरीरमा एउटा ट्याटू थपेका छन् । कोपा अमेरिकाको उपाधि जितेपछि डी मारियाले तीघ्रामा ट्रफीकै ट्याटू खोपेका हुन् ।
सामाजिक सञ्जालमार्फत ट्याटू देखाउँदै उनले लेखेका छन्– ‘आखिर त्यो दिन पनि आयो, मैले एक ट्रफी आफ्नो शरीरमा बनाउने वाचा गरेको थिएँ, जसलाई म आफ्नो शरीरमा जीवनभरि नै राख्न चाहन्थें ।’ अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउँदा डी मारियाले नै निर्णायक गोल गरेका थिए । गत आइतबार आयोजक राष्ट्र ब्राजिललाई उसैको मैदानमा १–० गोलले हराउँदै अर्जेन्टिनाले २८ वर्षे उपाधिविहीन यात्राको अन्त्य गरेको थियो ।
डी मारियाले ४७औं संस्करणको कोपा अमेरिकामा ६ खेल खेलेका थिए, जसमा उनले एक गोल गरे । उनको एक गोल नै अर्जेन्टिनालाई उपाधि जिताउन निर्णायक बनेको थियो । डी मारियाले अर्जेन्टिनी सिनियर टिमबाट पहिलो उपाधि जितेका हुन् । यसअघि उनले सन् २००७ मा यु–२० विश्वकपको उपाधि जितेका थिए ।