एजेन्सी । कोपा अमेरिका फुटबलको फाईनलमा मेस्सीको अर्जेन्टिना र नेयमारको ब्राजिल भिड्ने भएको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो ।
खेलमा अग्रता अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए । दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो । टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।
कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल रह्यो । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भएको थियो । अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग जुलाई ११ आइतबार विहान ५ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।