काठमान्डौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निकालेको नयाँ वरीयतामा नेपालका ४ खेलाडी अटाएका छन् ।
ब्याटिङतर्फ कुशल भुर्तेल, पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल तथा बलिङतर्फ सन्दीप लामिछाने वरीयतामा अटाएका हुन् । युवा ब्याट्सम्यान कुशल भुर्तेल ४४२ रेटिङ प्वाइन्टका साथ १ स्थान सुधार गर्दै ६० औँ स्थानमा उक्लिएका छन् । पूर्व कप्तान पारस खड्का ३६२ रेटिङ प्वाइन्टका साथ ८८ औँ स्थानमा कायम छन् । कप्तान ज्ञानेन्द्र मल्ल ९२ औँ स्थानमा उक्लिएका छन् । २ स्थान सुधार गरेका उनले ३५७ रेटिङ प्वाइन्ट पाए ।
इङ्ल्यान्डका डेविड मलान ८८८ रेटिङ प्वाइन्टका साथ ब्याटिङतर्फको वरीयतामा शीर्ष स्थानमा छन् । बलिङतर्फ युवा स्पिनर सन्दीप लामिछाने ४०५ रेटिङ प्वाइन्टका साथ ७६ औँ स्थानमा यथावत छन् । दक्षिण अफ्रिकाका तावरेज सम्सी ७५० रेटिङ प्वाइन्टका साथ बलिङतर्फका वरीयतामा शीर्ष स्थानमा छन् ।
नेपाल ३,५५६ अंकका साथ टि-२० वरीयताको १३ औँ स्थानमा छ । इङ्ल्यान्ड ६,९५० अंकका साथ शीर्ष स्थानमा छ ।