कोपाको पहिलो खेल आजः ब्राजिल र भेनेजुएला खेल्दै, यस्तो छ हेड टु हेड

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ३० २०७८
  • तामाकोशी

काठमाडौं । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका सोमबारदेखि ब्राजिलमा सुरु हुँदैछ ।

४७ औँ संस्करणको कोपा अमेरिका यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने भनिए पनि अन्तिम समयमा आएर आयोजकको भूमिका ब्राजिलले पाएको हो । कोलम्बियामा विरोध प्रदर्शन भएपछि अर्जेन्टिनाले एकल रुपमा प्रतियोगिता गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण अर्जेन्टिनाबाट ब्राजिलमा सारिएको हो । जहाँ घरेलु टोली ब्राजिलले भेनेजुएलासँग खेल्दै प्रतियोगिता सुरुवात गर्दैछ । खेल नेपाली समय अनुसार सोमबार बिहान २ः४५ बजे सुरु हुनेछ । उद्घाटन खेल ब्रासिलियास्थित स्टाडियो नासिओनाल माने गारिन्चामा हुनेछ ।



ब्राजिल र भेनेजुएला कोपा अमेरिकामा नवौं पटक खेल्न लागेको हो । यसअघिको ८ खेलमा अपराजित ब्राजिल यसपटक पनि यो लयलाई कायम राख्न चाहन्छ । ब्राजिल घरेलु मैदानमा खेलिएको कोपा अमेरिकाको २० खेलमा अपराजित छ । पछिल्लो पटक ब्राजिल सन् १९७५ मा पेरुसँग घरेलु मैदानमा पराजित भएको थियो ।