आजदेखि यूरो कप-२०२० प्रारम्भ, टर्की र इटालीबीच पहिलो खेल

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २८ २०७८
  • तामाकोशी

रोम । यूरो कप-२०२० फुटबल प्रतियोगिताको १६ औं संस्करण आज (शुक्रवार)देखि प्रारम्भ हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै यूरो कप-२०२० को औपचारिक थालनी हुनेछ ।

टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजेदेखि प्रारम्भ हुनेछ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेलमा दुबै टोलि पहिलो जीत निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यसपटक यूरो कप युरोपका विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता प्रारम्भ भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।



यूईएफएले यूरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुखारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम तथा सेन्ट पिटर्सवर्गमा आयोजना गर्दैछ । जुलाई ११ मा सम्पन्न हुने यूरो कपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।