कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने, आयोजनाबारे अझै अन्योल

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १७ २०७८
  • तामाकोशी

एजेन्सी । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने भएको छ । अर्जेन्टिनामा कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहर बढेपछि दक्षिण अमेरिकी फुटबल महासंघले प्रतियोगिता अर्जेन्टिनामा नगर्ने सोमबार निर्णय गरेको हो ।

अर्जेन्टिनामा अहिले सबै प्रकारका फुटबल रोकिएका छन् । महासंघको यो निर्णयपछि प्रतियोगिताको आयोजनाबारे अन्योल छाएको छ । यसअघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियाले जुन १३ बाट संयुक्त रूपमा गर्ने तय भएको थियो ।



तर कोलम्बियाले आफ्नो देशमा भइरहेको प्रदर्शनका कारण नाम फिर्ता लिएको थियो । निर्धारित कार्यक्रमअनुसार प्रतियोगिता सुरु हुन १३ दिन मात्र बाँकी छ । महासंघले नयाँ आयोजकबारे छलफल भइरहेको पनि जनाएको छ । प्रतियोगिता एक वर्षअगाडि नै हुनुपर्ने थियो तर कोरोना महामारी चर्केपछि एक वर्ष पछाडि सारिएको थियो । अब दोस्रोपल्ट प्रतियोगिताको आयोजना अनिश्चित भएको छ ।