काठमान्डौं । नेपाली राष्ट्रिय फुटबल टोली यतिबेला मैत्रीपूर्ण खेलका लागि इराकमा छ। बुधबार त्यहाँ पुगेको नेपाली टोली र इराक दुवै विश्वकप छनोटको अगाडि आमनेसामने हुँदै छन्।
बस्रा पुगेर दुई दिन प्रशिक्षण समेत गरेको टोली र घरेलु टोलीविरुद्ध अल्फायहा रंगशालामा शनिबार नेपाली समयअनुसार राति सवा १० बजे खेल सुरु हुनेछ। अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेविरुद्धको विश्वकप छनोटअघि हुने यो मैत्रीपूर्ण खेलले नेपाली टोली तयारीबारेको अनुमान गर्न सकिन्छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा टोलीले खेल्ने यो पहिलो खेल हो।
नेपाल र इराकबीच दुई दशकपछि कुनै खेल हुँदै छ। सन् २००१ मा इराकमै विश्वकप छनोटका दुई खेलपछि यी दुई टोलीबीच शनिबार नै पहिलो भेट हुनलागेको हो। पहिलो भेट भने झण्डै चार दशकअघि सन् १९८२ मा एसियाली खेलकुदमा भएको थियो। तीनै खेलमा नेपालले इराकसँग पराज भोगेको थियो। एसियाली खेलकुदमा नेपाल ३–० ले पराजित भएको थियो। सन् २००१ को विश्वकप छनोटको पहिलो भेटमा इराकले नेपाललाई ९–१ ले हराएको थियो। नेपाली टोलीका लागि एक मात्र गोल निराजन रायमाझीले गरेका थिए।
त्यही महिना अर्को छनोट खेलमा हरि खड्का र निराजन रायमाझीले गोल गरेपछि नेपाल ४–२ ले पराजित भएको थियो। पूर्वकप्तान समेत रहेका खड्का इराकविरु’द्ध मैत्रीपूर्ण खेल खेल्न पाउनुलाई महत्वपूर्ण अवसर मान्छन्।
फिफा वरीयतामा पनि नेपालभन्दा इराक १०३ स्थान माथि छ। नेपाल वरीयताको १ सय ७१औँ र इराक ६८औँ स्थानमा छ। ३ अंकका साथ नेपाल समूहको अंकतालिकाको चौथो स्थानमा छ। नेपालले ५ खेलमा १ खेलमा जित र ४ खेलमा हार व्यहोरेको थियो।
अंकतालिको पुछारमा रहेको चाइनिज ताइपेइले अंक जोड्नसकेको छैन। अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ। अंकतालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने भएकाले पनि छनोट अवसर रहनेछ।
यस्तो छ नेपाली राष्ट्रिय टोलीः
गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डरः अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डरः एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्डः अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा