काठमाडौं, जेष्ठ ११ गते । इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार राति दोहा प्रस्थान गर्दै छ। कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न टोली आज १० बजे राति यात्रामा निस्किन लागेको हो।
कतार एयरवेजको चार्टर उडानमार्फत दोहा हुँदै टोली इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। २३ खेलाडीसहित ३६ सदस्यी टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने एन्फाले जानकारी दिएको छ।
टोलीसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल पनि इराक पुग्नेछन्। उनको यो यात्रा अचानक तय भएको एन्फा स्रोतले बताएको छ। ‘सोमबार अचानक उहाँ पनि जाने तय भएको हो।
नेपालले जेठ १५ गते बसरा इन्टरनेसनल स्टेडियममा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। नेपालले यसअघि इराकसँग सन् २००१ मा खेलेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।
फिफा बरीयतामा नेपाल १७१औं स्थानमा छ भने इराक ६८औं स्थानमा छ। इराकविरुद्धको खेलपछि जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने छ। त्यहाँ टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल्नेछ। नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ। ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको नेपाल साथ चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ।
विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने छ।
अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ। नवनियुक्त प्रशिक्षण अलमुताइरीको प्रशिक्षणमा नेपालले इराकविरुद्ध पहिलो खेल खेल्दै छ। एन्फाले औपचारिक रुपमा उनलाई चैत २२ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। उनले आगामी खेलका लागि २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन्। उनले भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रवि पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङजस्ता खेलाडीहरुलाई विश्राम दिएर नयाँ खेलाडीलाई मौका दिएका छन्।
विशाल सुनार, आयुस घलान, मनिष डाँगी, सुरज जिउ ठकुरीलगायत खेलाडीले पहिलोपटक टोलीमा स्थानमा बनाएका छन्। त्यस्तै, नवयुग श्रेष्ठ र सन्तोष तामाङले पुनरागमन गरेका छन्।
यस्तो छ नेपाली टोली
गोलरक्षकः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डरः विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्डः अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा