एजेन्सी । टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा दोहोरो व्यक्तिगत उपाधि जितेका छन् ।
लिगको अन्तिम खेलमा लेस्टरविरुद्ध गोल र असिस्ट प्रदान गरेका केनले प्रिमियर लिगको सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट प्रदान गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि जितेका हुन् । आइतबार टोटेनहमले लेस्टरलाई ४-२ ले पराजित गर्दा केनले १ गोल र १ असिस्ट दिएका थिए ।
केनले जारी सिजन २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेका हुन् । उनलाई यस उपाधिका लागि पछ्याइरहेका लिभरपुलका मोहमद सलाहले गोल थप्न सकेनन् । उनले २२ गोल गर्दै दोस्रो स्थानमा रहे । म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस १८ गोलसहित तेस्रो स्थानमा थिए ।
यस्तै केनले सर्वाधिक असिस्ट गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि पनि जिते । उनले सिजनभर १४ असिस्ट गरेका थिए । उनलाई समान १२ असिस्ट प्रदान गर्दै ब्रुनो फर्नान्डेस र केभिन डे ब्रुएनले पछ्याएका थिए ।
अंक तालिकामा च्याम्पियन म्यानचेस्टर सिटीको ८६ अंक तथा उपविजेता युनाइटेडको ७४ अंक भयो । लिभरपुल ६९ अंकसहित तेस्रो रहँदा चेल्सी ६७ अंकसहित चौथो रहयो ।