यसकारण मेसीलाई सिजनको अन्तिम खेलमा खेलाइने छैन

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ८ २०७८
  • तामाकोशी

काठमाडौँ । लियोनेल मेसीले बार्सिलोनाको यस सिजनको ला लिगाको अन्तिम खेल नखेल्ने भएका छन् । यस सिजनको अन्तिम खेल बार्सिलोनाले शनिबार राति एइबरविरुद्ध खेल्दै छ ।

बार्सिलोनाले मेसी अन्तिम खेलमा नखेल्ने जानकारी दिएको छ । क्लबले भनेको छः मेसी शुक्रबार प्रशिक्षणमा सहभागी भएनन् । कोचले उनलाई अन्तिम खेलमा नखेल्न अनुमति दिएका छन् । त्यसैले उनलाई अन्तिम खेलको टिममा समावेश गरिएको छैन ।



मेसीको बार्सिलोनामा यस सिजनको अन्त्यसँगै सम्झौता सकिने भएकाले अन्तिम खेलमा उनी नखेल्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । मेसीले अन्तिम खेलमा नखेल्ने कारण बारे क्लबले स्पष्ट भने गरेको छैन ।

मेसीले बार्सिलोना छोड्ने खबर प्रकाशित भइरहेका भएपनि उनले स्पष्ट भने गरेका छैनन् । अघिल्लो बर्ष क्लबको व्यवस्थापनसँग विवाद हुदा मेसीले बार्सिलोना छोड्ने घोषणा गरेका थिए । तर सम्झौताको शर्त अनुसार क्लब छोड्ने अनुमति नपाएपछि मेसी बार्सिलोनामै रहेका थिए ।

अहिले बार्सिलोनाका सिनियर र पूर्व खेलाडीहरुले मेसीलाई बार्सिलोना नछोड्न सल्लाह दिइरहेका छन् ।