काठमाडौं। स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा साविक विजेता रियल मड्रिडले सहज जीत निकालेको छ । रियलले डिपोर्टिभो अलाभ्सलाई उसैको मैदानमा ४-१ ले हराएको हो ।
रियलको जीतमा करिम बेन्जेमाले २ तथा क्यासेमिरो र इडेन हाजार्डले १/१ गोल गरे । घरेलु टोलीका लागि जोसेलुको गोल सान्त्वना बन्यो । खेलको १५औं मिनेटमा क्यासमिरोको गोलबाट रियलले अग्रता लिएको थियो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा करिम बेन्जेमाले हाजार्डको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्ज्युरी समयमा टोनी क्रुसको पासमा हाजार्डले गोल गरेपछि रियल खेलमा ३–० ले अघि बढ्यो । ५९औं मिनेटमा अलाभ्सका जोसेलुले लुकास पेरेजको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ७०औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४–१ को सानदार जित दिलाए ।
यस जीतसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंकदुरी ४ मा झारेको छ । रियलको १९ खेलबाट ४० अंक पुगेको छ । दुई खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ । पराजित अलाभ्स १८ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।