सन्दीपले भोली शनिबार बिगबासमा पहिलो खेल खेल्ने

  • प्रकाशित मिति: शुक्रबार, पुष १७ २०७७
  • तामाकोशी

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस सिजनको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको क्वारेन्टाइन सकिएपछि उनले पहिलो खेल आफ्नै पुरानो क्लब मेलबर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् ।

सन्दीपले मेलबर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । होबार्ट हुरिकेन्समा आबद्ध सन्दीपले कोरोना संक्रमणका कारण यस सिजनको सुरुआतका ६ खेल गुमाएका थिए । नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण सन्दीपलाई बिगबास लिग खेल्नका लागि अस्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएकाले उनले सुरुका ६ खेल खेल्न नपाएको शिवाकोटीले बताए । सन्दीप बुधबार क्वारेन्टाइनमुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका छ खेलमध्ये चारमा जित तथा दुईमा हार बेहोरेको होबार्ट आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा छ ।



बिगबास खेल्न लामिछाने मंसिर ३० गते अस्ट्रेलिया गएका हुन् । क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभ्यासमा जुटेको व्यवस्थापक शिवाकोटीले बताए । सन्दीपले खेल्ने शनिबारको खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुने बताइएको छ । उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन् । सन्दीपले यसअघि दुई सिजनको बिगबास मेलबर्न स्टार्सबाट खेलेका थिए । ती दुई सिजनमा उनले कुल २० खेल खेल्दै २६ विकेट लिएका थिए ।