काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथि शानदार जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७-० को फराकिलो अन्तरले हरायो ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्ने लयलाई कायम राख्दा पोर्चुगलका लागि ५ फरक खेलाडीले गोल गरे । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा पाँच गोल थपेको हो । खेलको आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा पाउलिन्होले पोर्चुगलको अग्रता दोब्बर पारे र ५६औं मिनेटमा रेनाटो सान्तेजले गोल गर्दै अग्रता तेब्बर पारे । ६१औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो गोल गरे । ७६औं मिनेटमा एमिल गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता बनायो ।
८५औं मिनेटमा रोनाल्डो र ८८औं मिनेटमा जाओ फेलिक्सले गोल गरेपछि पोर्चुगलले शानदार जित हात पारेको हो । रोनाल्डोले देशको लागि गोल संख्या १०२ पुर्याएका छन् । उनी अन्तर्राष्ट्रिय स्तर सर्वाधिक गोल गर्ने इरान अली दाईलाई पछ्याउँदै छन् । अलीको कीर्तिमानबाट रोनाल्डो अब ७ गोल मात्र टाढा छन् । अलीले १०९ गोल गरेका छन् ।