काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरणमा भएको त्रुटी सुधार गरेको छ। क्यानको आज (शनिबार) बसेको भर्चुअल बैठकले पहिले गरिएको वर्गीकरणमा भएको त्रुटी सुधार गरेको हो।
तर नयाँ निर्णयअनुसार खेलाडीको वर्गीकरणसँगै सेन्ट्रल कन्ट्र्याक्ट (सम्झौता) छ महिनाको मात्र हुने भएको छ। सम्झौता २०२० जनवरीबाट लागू हुने क्यानले बताएको छ। त्यसो भए अहिले खेलाडी सम्झौताविहिन छन् ? भन्ने प्रश्नमा क्यानका कोषध्यक्ष रोशन कुमार सिंह भन्छन्, ‘देख्दा त्यस्तो देखिए पनि यो सत्य होइन। बाँकी छ महिनाको सम्झौता अर्को सिजनमा मिलान गर्ने गरी निर्णय गरेका हौं।’ अहिलेको सम्झौताअनुसार ६ महिनाको तलब खेलाडीले पाउने छन्। त्यो भनेको २०२० जुन मसान्तसम्मको समय हो। राष्ट्रिय खेल सुरु भएपछि बाँकी समयको सम्झौता हुनेछ। गत असोज छ गते क्यानको चितवनमा सम्पन्न बैठकले खेलाडीको सम्झौता एक वर्षको हुने बताएको थियो।
त्यस्तै, क्यानले यसअघि सार्वजनिक गरेको वर्गीकरण आलोचित बनेपछि सो वर्गीकरण हेरफेर गर्न सकिने बताउँदै आएको थियो। साथै अध्यक्ष चतुरबहादुर चन्दले तीन महिनापछि फेरि वर्गीकरण हुने भन्दै पहिलेको वर्गीकरणको बचाउसमेत गरेका थिए। आजको बैठकले ललित नारायण राजवंशीलाई बी ग्रेडमा स्थान दिएको छ। यस पहिले उनी सेन्ट्रल कन्ट्र्याक्टमै थिएनन्। त्यस्तै, फस्ट बलर सोमपाल कामीलाई बी ग्रेडबाट पुनः ए मा फर्काइएको छ।
अविनाश बोहरालाई सी ग्रेडबाट बी मा पुर्याइएको छ भने सन्दीप जोरालाई सी मा राखिएको छ। महिला खेलाडीतर्फ सरस्वती चौधरी ग्रेड बीमा, ममता चौधरी र सुमन खतिवडालाई सीमा राख्ने निर्णय गरिएको छ। नयाँ वर्गीकरणमा पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी सम्झौतामा परेका छन्। तर कोरोना महामारीलाई मध्यनजर गर्दै क्यानले खेलाडीसँग ६ महिनाको मात्र सम्झौता गर्ने निणर्यसमेत गरेको छ।
पुरुषतर्फ ग्रेड ए, बी र सीमा पर्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार र ३० हजार मासिक तलब पाउनेछन्। ग्रेड, ए, बी र सीमा पर्ने महिलाले भने क्रमशः १५ हजार, १२ हजार र १० हजार तलब पाउने छन्। त्यस्तै, राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प मंसिर १० गतेबाट सुरु हुने भएको छ। सम्पूर्ण स्वास्थ्य प्रोटोकल पुरा गर्दै क्लोज क्याम्प सुरु गर्ने क्यानले जारी गरेको सूचनामा भनिएको छ। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो डिसेम्बरसम्ममा हुने गरी अनुमति लिन क्यानले प्रकृया अघि बढाउने भएको छ।