१३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सामना गर्दैछ। खेल साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सुरु हुनेछ।
दिल्लीको प्लेइङ ११ मा पर्न सन्दीपलाई कठिन हुने देखिएको छ। दिल्लीमा सन्दीपसँगै अन्य स्पीनरहरू अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेल रहेका कारण उनलाई प्लेइङ ११ मा पर्न मुश्किल रहेको देखिन्छ। तर पिच स्पीनरमैत्री भएकाले धेरै जना स्पीनरलाई मैदान उतार्न सक्ने सम्भावना पनि रहेको छ।
नियमित लेग स्पीनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै दिल्लीले पछिल्लो समय टोलीमा बायाँ हाते अफ स्पिनर आश्विनलाई पनि भित्र्याउनु लामिछानेको लागि चुनौती बनेको ठानिएको छ। त्यस्तै राम्रो ब्याटिङ क्षमता भएका किङ्सका पूर्व कप्तान आश्विन दिल्लीको पहिलो रोजाइमा पर्नेछन्।