मेस्सीले क्लब छोड्ने चर्चाले क्याप नोउबाहिर समर्थकको नाराबाजी

  • प्रकाशित मिति: बुधबार, भाद्र १० २०७७
  • तामाकोशी

एजेन्सी, भदौ १० गते। मंगलबार बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छोड्ने समाचार बाहिरिएपछि क्याप नोउबाहिर समर्थकहरूले नाराबाजी गरेका छन् । अर्जेन्टिनी स्टार मेस्सीले क्लब छोड्न समाचार बाहिरिएपछि समर्थकहरूले बार्सिलोनाको बोर्डविरुद्ध नाराबाजी गरेका थिए ।
३३ वर्षीय मेस्सीले मंगलबार साँझ बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन बोर्डसँग आग्रह गरेका थिए । फ्याक्समार्फत उनले क्लब छोड्ने औपचारिक निर्णय गरेको बताइएको छ । सो खबरपछि समर्थकहरूले बार्सिलोनाको खेलमैदान क्याप नोउबाहिर मेस्सीको समर्थन गर्दै प्रदर्शन भएको हो । मेस्सीको सरुवाको खबरपछि निराश बनेका समर्थकहरूले उनलाई अन्यत्र जान नदिने बोर्डले निर्णय लिनुपर्ने बताएका छन् ।
उनीहरूले ‘मेस्सी बसून्’ र बार्टोमेउले ‘राजीनामा दिऊन्’ भन्दै नारा लगाएका थिए । यद्यपि, मेस्सीको औपचारिक निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्ने भएको छ ।