च्याम्पियन्स लिग फाइनल हारेसँगै कप्तान सिल्भाले पीएसजी छाडे

  • प्रकाशित मिति: मंगलबार, भाद्र ९ २०७७
  • तामाकोशी

एजेन्सी । ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान डिफेन्डर तथा कप्तान थियागो सिल्भाले च्याम्पियन्स लिग फाइनलसँगै क्लबका लागि अन्तिम खेल खेलेका छन् ।

यसअघि नै सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका सिल्भाको पीएसजीमा अन्त्य सुखद रहन सकेन । घरेलू लिग र कप उपाधि जितेको पीएसजी च्याम्पियन्स लिगको फाइनलमा बायर्नसँग १(० ले पराजित भयो । यससँगै सिल्भाले पनि पीएसजी बसाईं टुंग्याएका छन् ।
इटलीको रिपोर्ट अनुसार इंग्लिस क्लब चेल्सीको नजरमा रहेको ३५ वर्षे सिल्भालाई फियोरेन्टिनाले प्रतिसाता ७० हजार पाउन्ड पाउने गरी प्रस्ताव गरेको उल्लेख छ । सिल्भालाई फियोरेन्टिनाले दुई वर्षको सम्झौता गर्न प्रस्ताव लगेको छ । सिल्भा २०१२ मा इटालियन क्लब एसी मिलानबाट पीएसजी पुगेका थिए । उनी आठ वर्षपछि पुनः इटली फर्कन सक्नेछन् । सिल्भा फ्रि ट्रान्सफरमार्फत फियोरेन्टिनासँग जोडिन लागेका हुन् । चेल्सीले पनि डिफेन्डरमाथि इच्छा देखाएको थियो । तर लाम्पार्डले हाललाई एक वर्षको लागि मात्र अनुबन्धन गर्ने भनेपछि छलफल अगाडि बढ्न सकेन । सिल्भाले केहि दिनअघि नै खेल पीएसजीबाट बिदा लिने घोषणा गरेका थिए ।
सिल्भाले पीएसजीबाट ३१३ खेल खेल्दै १७ गोल गरेका छन् । उनले पीएसजीबाट ७ लिग वान, ६ कप डि ला लिग र समान पाँचपटक कप डि फ्रान्स र ट्रफी डेस च्याम्पियन्स जितेका छन् ।