सन्दीप र कुशल विश्वका युवा उत्कृष्ट खेलाडीको सूचीमा

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १२ २०७७
  • तामाकोशी

काठमाण्डौ । जेठ १२ गते,
संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका ’द नेशनल’ले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट दुई जना खेलाडी परेका छन् । पत्रिकाले सार्वजनिक गरेको २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउण्डर कुशल मल्ल परेका हुन् । यो सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्यता रहेको छ । यस्तै एसोसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा यूएई र स्कटल्यान्डका एक–एक जना समावेश छन् । पत्रिकाले जनाए अनुसार यो सूचीमा भारतबाट धेरै खेलाडी परेका छन् । यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन् ।
उत्कृष्ट खेलाडीको सूचीमा परेका भारतीय खेलाडीमा यशस्वी जैसवाल, रवी बिस्नोइ, कार्तिक त्यागी, प्रियम ग्राग रहेका छन । यी सबै १९ वर्षका रहेका छन् । यी खेलाडीमा यशस्वी यो सिजनको आईपीएलमा पनि बिक्री भइसकेका खेलाडी हुन् भने ग्राग भारतको यू–१९ क्रिकेटका कप्तान हुन् र पहिलो श्रेणीमा दोहोरो शतक बनाएका खेलाडी हुन् । यस्तै त्यागी पनि आईपीएलमा छनोट भएका यू–१९ का खेलाडी हुन् । उनले भारतबाट विश्वकप पनि खेलेका छन् । रवी बिस्नोइ भारतका युवा बलर हुन्, जसले दक्षिण अफ्रिकामा भएको विश्वकपमा धेरै विकेट लिएका थिए । नेपालबाट परेका सन्दीप लामिछाने एक चर्चित युवा क्रिकेटर हुन् । विश्वका प्रायः सबै फ्रेन्चाइजी लिग खेलेका सन्दीप नेपालका लागि टी–२० अन्तर्रा्ष्ट्रियमा एक सय विकेट लिने पहिलो खेलाडी हुन् । यसका साथै उनी एकदिवसीय क्रिकेटमा पनि नेपालका लागि धेरै विकेट लिने बलर हुन् । कुशल मल्ल एक अलराउण्डर हुन् ।