काठमान्डौ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आगामी व्यावसायिक फ्रेन्चाइज लिग कुन खेल्ने अब कुनै टुङ्गो छैन । सन्दीपले खेल्ने दुई ठुला खेलहरु इन्डियन प्रिमियर लिग (आइपिएल) र द हन्ड्रेड दुवै स्थगित भएका छन् । द हन्ड्रेड अर्को वर्षलाई सार्दा आइपिएल अनिश्चित समय सम्मको लागि स्थिगित भएको विभिन्न सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।
सन्दीपको आइपिएलमा दिल्ली क्यापिटल्ससँग तीन वर्षे सम्झौता अनुसार यहि सिजन अर्थात २०२० सम्म रहेको थियो । यो वर्ष नभएको खण्डमा आइपिएलमा सन्दीपको भविष्य के होला भन्ने सबैको चाखको विषय बनेको छ । सन्दीपको यो वर्ष सम्झौता अनुसार अन्तिम सिजन थियो । सन् २०१८ को अक्सनमा २० लाख भारुमा दिल्लीले खरिद गरेपछि सन्दीप लगातार सफल हुँदै आएका छन् । उनले पछिल्लो समय मोटो रकममा अन्य लिग खेलिरहेका छन् ।
अर्कोतर्फ इंग्ल्यान्ड क्रिकेट बोर्डले जुलाईमा पहिलो पटक गर्ने तयारी गरेको द हन्ड्रेड (एक सय बलको खेल) को प्रतियोगिता अर्को वर्षलाई सारेको छ । गत कार्तिकमा भएको द हन्ड्रेडको ड्राफ्टमा सन्दीपलाई ओभल इन्भीनसिभल्सले १ लाख पाउन्ड (१ करोड ५० लाख नेपाली रुपैयाँ) बराबर मूल्यमा अनुबन्ध गरेको थियो । जुन सन्दीपले व्यावसायिक फ्रेन्चाइज लिगमा अनुबन्ध भएको सर्वाधिक मूल्य हो ।
कोरोनाका कारण सन्दीप लामिछानेलाई कति घाटा ?
- प्रकाशित मिति: आइतबार, बैशाख २८ २०७७
- तामाकोशी