१३औँ दक्षिण एशियाली खेलकुद पुरुष क्रिकेटमा नेपाललाइ काँस्य

  • प्रकाशित मिति: सोमबार, मंसिर २३ २०७६
  • तामाकोशी

काठमाडौं । सागको पुरुष क्रिकेटमा नेपालले काँस्य जितेको छ । सोमबार बिहान भएको खेलमा नेपालले ५ विकेटले माल्दिभ्सलाई हराएर काँस्य जितेको हो ।

माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍याे । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३२, कप्तान ज्ञानेन्द्र मल्लले २२, विनोद भण्डारीले १२, रोहितकुमार पौडेल ११ रन बनाए । माल्दिभ्सका उमर एडमले ३ विकेट लिए ।



त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

माल्दिभ्सका लागि लीम शाफेजले सर्वाधिक १९ रन मोहमद रिजवानले १७ र कप्तान मोहमद महफुजले १६ रन बनाए । बलिङमा नेपालका ललितनारायाण राजवंशीले ३, शुसन भारीले २ र पारस खड्काले १ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनले हराएको थियो । त्यस्तै तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले पराजित गरेको थियो ।
चौथो खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको थियो । त्यसपछि नेपाल कास्यका लागि सोमबार माल्दिभ्ससँग खेलेको हो । साग क्रिकेटमा नेपालले पहिलो पटक कास्य जितेको हो ।

सोमबार सागको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश खेल्दै छन् । पुरुष क्रिकेटमा नेपालसहित श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान गरी ५ टोली सहभागी थिए । यसअघि महिला क्रिकेट टोलीले पनि माल्दिभ्सलाई हराएर कास्य जितेको थियो ।