काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको प्रचार सगरमाथाबाट सुरु गर्न अमेरिकी फुटबल संघलाई आग्रह गरेको छ ।
अमेरिकाको भ्रमणमा रहेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अमेरिकी फुटबल संघका अध्यक्षसंग भेट गरि विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वकप फुटबलको प्रचार अभियानको थालनी गर्न आग्रह गरेका हुन् । एन्फा अध्यक्ष शेर्पाले शुक्रबार अमेरिकी फुटबल संघका अध्यक्ष कार्लोस कोर्डीरोसंग भेटवार्ता गरेका थिए ।
वासिङ्टन डीसीमा भएको भेटमा अध्यक्ष कर्माले सो आग्रह पुन दोहर्याएका हुन् । सन् २०२६ को विश्वकप अमेरिका सहित क्यानडा र मेक्सिको मिलेर संयुक्त रुपमा आयोजना गर्दैछन् । अमेरिका सहित तीन देशलाई विश्वकप आयोजनाको अधिकार दिने बिषयमा भोट गर्ने समय नेपालले प्रचार अभियान सगरमाथाबाट थालनी गर्नुपर्ने शर्त राखेको थियो ।
@खेलपाटी