युरोकप छनोट: रोनाल्डोको गोलमा पोर्चुगलको सहज जित

  • प्रकाशित मिति: शनिबार, असोज २५ २०७६
  • तामाकोशी

सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा पोर्चुगलले सहज जित निकालेको छ । छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको पाँचौं खेलमा पोर्चुगलले लक्समबर्गलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो र गोन्कालो गुएडेसले एक एक गोल गरे । घरेलु मैदानमा सिल्भाको गोलबाट पोर्चुगलले १६ औं मिनेटमा अग्रता बनाएको थियो । ६५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता २-० को बनाए ।



यस गोलसँगै रोनाल्डो करियरको ७ सय गोल नजिक पुगेका छन् । उनले ६ सय ९९ गोल गरेका छन् ।  यस्तै रोनाल्डोले पोर्चुगलका लागि ९४ औं गोल समेत पुरा गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा गुएडेसले गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए । जितसँगै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ ।

समूह ‘बी’ को पोर्चुगलले ५ खेलमा ११ अंक जोडेको छ । र, समूहको दोस्रो स्थानमा छ । लक्समबर्ग ६ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ ।

@एजेन्सी