एजेन्सी । लुइस सुआरेजको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानमाथि जित निकालेको छ ।
घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो । बार्सिलोनाको जितमा दुवै गोल उरुग्वेयिन फरवार्ड सुआरेजले दुवै गोल गरे । इन्टरमा लौटारे मार्टिनेजले एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै मार्टिनेजको गोलबाट घरेलु टोली बार्सिलोना पहिलो हाफमा १–० ले पछि परेको थियो । मार्टिनेजले एलेक्सिस साञ्चेजको पासमा गोल गरेका थिए । सुआरेजको गोलबाट बार्सिलोनाले ५८औं मिनेटमा खेललाई १–१ को बराबरीमा ल्यायो । उनले आर्टुरो भिडालको पासमा गोल गरे ।
खेल सकिन ६ मिनेट बाँकी रहँदा कप्तान लियोनल मेस्सीको पासमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी रहन सफल भयो । जितसँगै बार्सिलोना २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । इन्टर १ अंक जोडेर पुछारमा छ ।
यही समुहको अर्काे खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले चेकरिपब्लिक क्लब स्लाभिया प्रागमासथ २–० को सहज जित निकाल्यो । डर्टमन्डको लागि दुवै गोल आचरफ हाकिमीले गोल गरे ।
जितसँगै डर्टमन्ड २ खेलबाट ४ अंक जोडेर समूह ‘एफ’ मा शीर्षस्थानमा रहेको छ । गोल अन्तरमा बार्सिलोना दोस्रो तथा पराजित स्लाभिया प्राग १ अंकसहित तेस्रो स्थानमा छ ।
(भिडियो )