रामेछाप । भदौ १७ गते,
रामेछापको मन्थली नगरपालिकामा बन्ने बहुद्देश्यीय कबर्डहल निर्माणको सिलन्यास गरिएको छ । भुत्याहा खोला किनारमा बन्ने प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त कबर्डहलको प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले मंगलबार सिलन्यास गरेका छन् । खेलकुदका साथै अन्य कार्यक्रम समेत गर्न मिल्ने गरी उक्त कबर्डहल निर्माण थालिएको हो । उनले कबर्डहल तोकिएको समयमा निर्माण पुरा गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिए । सडक, स्वास्थ्य, कृषि, पशुपालन, खेलकुद, पर्यटन लगाएतको क्षेत्रमा प्रदेश सरकारले दर्जनौ योजना संचालनमा ल्याएको मन्त्री ढुंगेलको भनाई छ । 
सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेल काभ्रेका आयोजना प्रमुख पूर्णबहादुर दर्जीका अनुसार करिब १३ करोड १३ लाख ९० हजारको लागतमा निर्माण हुने उक्त कबर्डहलमा बास्केटबल, भलिबल, ब्याडमिन्टर, टेबुलटेनिस जस्ता खेल संचालन गर्नसक्ने क्षमता रहेको छ । अत्याधुनिक कबर्डलमा करिव १ हजार २ सय दर्शक अटाउन सक्ने हल हुनेछ । रिमोटले कुर्सि सार्ने प्रवृद्धिको उक्त हलमा वैवाहिक, धार्मिक, सांस्कृतिक र राजनीतिक सभाका लागि स्थान हुनेछ । जिल्लामा हालसम्म कबर्डहल छैन । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले नगरका बहुआयमिक विकास गर्ने उद्देश्यले गौरवका योजना निर्माण थालिएको बताए । प्रदेश सरकारले यसै वर्षदेखि रंगशालाको निर्माणको समेत योजना अघि सारेको छ ।
रामेछापको मन्थलीमा बन्ने बहुद्देश्यीय कबर्डहलको सिलन्यास
- प्रकाशित मिति: मंगलबार, भाद्र १७ २०७६
- तामाकोशी