रामेछाप,फागुन १३ गते ।
आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गतको प्रदेश नम्बर ३ को छनौट चरणको प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता रामेछापको मन्थलीमा सोमबारदेखि सुरु भएको छ । १३ ओटा जिल्ला भएको ३ नम्बर प्रदेशका १३ ओटै जिल्लाका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।
सोमबार भएको पहिलो खेलमा दोलखाले नुवाकोटलाई २५–१७, २५–१७ को सोझो सेटमा हराएको छ । यस्तै सोमबारनै भएको अन्य खेलहरुमा सिन्धुलीले धादिङलाई २५–६, २५–११ को सोझो सेटमा, सिन्धुपाल्चोकले मकवानपुरलाई २५–२२, २५–२४ को सोझो सेटमा, भक्तपुरले रसुवालाई २५–१९, २५–१४ को सोझो सेटमा र रामेछापले काठमान्डौलाई २२–२५, २५–२१, २५–१९ को सेटमा पाखा लगाएको छ ।
यस्तै सोमबार नै नुवाकोटले धादिङलाई २५–१४, २५–११ को सोझो सेटमा, ललितपुरले मकवानपुरलाई २५–२१, २५–१६ को सोझो सेटमा र चितवनले भक्तपुरलाई २५–१४, २७–२५ को सोझो सेटले हार चखायो ।
मंगलबारको पहिलो खेल दोलखा विरुद्ध सिन्धुली विच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुर्पाेत्तम कडरियाले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगिता फागुन १६ गते सम्म सञ्चालन हुनेछ ।